राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट-उपगुट नरहेको दाबी गर्दै कसैले गुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गरेका छन्।
महाधिवेशनसँगै पार्टी समायोजनको सम्पूर्ण काम सम्पन्न भइसकेकाले रास्वपा एकल नेतृत्व र ‘एक घण्टी’ को अवधारणामा अघि बढेको उनले बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपामा अब अलग-अलग नेता वा गुटको कुनै अस्तित्व नरहेको सुनाए।
‘कसैले भन्न सक्ला म यो गुटको, म ऊ गुटको, मेरो नेता यो हो, मेरो नेता ऊ हो भनेर,’ लामिछानेले भने, ‘त्यसबाट मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन। हामी एउटा रास्वपा हौं, एउटा नेतृत्व छ, ‘वान आरएसभीपी, वान बेल’।’
स्थानीय स्तरमा नेताहरूले आफूखुसी उम्मेदवार तोक्ने, आश्वासन दिने र माला लगाइदिने विकृतिलाई तोड्न पार्टीले नयाँ संस्थागत प्रणाली सुरु गरेको लामिछानेको भनाइ थियो।
कोठा वा भेलामा बसेर व्यक्तिगत सम्बन्धका आधारमा बाँडिएका सबै उम्मेदवारी खारेज भएको घोषणा गर्दै उनले अब पार्टीभित्र कसैको आशीर्वादका भरमा टिकट नपाइने बताए।
गुटगत प्रभाव र मनोमानी अन्त्य गर्न पार्टीले ‘आरएसभीपी एप’ मार्फत ‘क्यान्डिडेट क्लब’ सुरु गरेको र त्यसमार्फत उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक पृष्ठभूमि परीक्षण गरिने उनले उल्लेख गरे। पहिलो चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि आवेदन खुलाइएको छ।
विगतमा पार्टी निर्माणको हतारोका कारण प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गर्न नसकिएको कमजोरी औंल्याउँदै लामिछानेले अब ‘लिडरसिप एकेडेमी’ मार्फत कानुनी र राजनीतिक रूपमा दक्ष ठहरिएका व्यक्तिलाई मात्रै जनताको बीचमा पठाइने बताए।
प्रकाशित: १ भाद्र २०८३ १९:१८ सोमबार