रवि लामिछानेसम्बन्धी मुद्दा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। अदालतले उक्त मुद्दालाई गम्भीर प्रकृतिको मान्दै विस्तृत कानुनी व्याख्या आवश्यक रहेको निष्कर्षसहित पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो। बहस सम्पन्न भएपछि सर्वोच्च प्रशासनले मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय भएको जानकारी दिएको छ।
पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। सोही निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
अब पूर्ण इजलासमा हुने सुनुवाइले यस प्रकरणको अन्तिम कानुनी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १६:५९ आइतबार