तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा सोमबार बयान दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आमालाई समयमै अक्सिजन दिन नपाउँदा निधन भएको भावुक प्रसंग सुनाएका हुन्।
‘आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो, एक-एक छिनमा अक्सिजन दिनुपर्ने अवस्था थियो,’ लेखकले भने, ‘२४ गतेको दिन प्रदर्शनकारीको आक्रमणबाट आमालाई जोगाउनुपर्यो। विना अक्सिजन नै आमालाई केही समय लुकाएर राख्नुपर्यो। अक्सिजन विना नै अस्पताल पुर्याउँदा फोक्सोमा निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो।’
आयोगले व्यक्तिगत क्षतिबारे जिज्ञासा राखेपछि मात्र आफूले यो कुरा सार्वजनिक गरेको उनले सुनाए। महेन्द्रनगरका दुई वटा घर जलेर नष्ट भएको र काठमाडौंको घर पनि बस्नै नहुने गरी ध्वस्त भएको उनले जानकारी दिए।
घरसँगै सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रिया, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा आफूले संकलन गरेका ऐतिहासिक टिपोट, दस्तावेज र करिब ५ हजार पुस्तक जलेर खरानी भएकोमा उनले चिन्ता व्यक्त गरे।
यद्यपि, देशमै ठुलो धनजनको क्षति भएको भन्दै उनले राष्ट्रिय क्षतिको तुलनामा आफ्नो व्यक्तिगत पीडालाई गौण ठानेको बताए।
आयोगमा लेखकको बयान- बल प्रयोगको आदेश दिएको थिइनँ, आन्दोलन ‘हाइज्याक’ भयो
आयोगलाई बुझाएको लिखित जवाफमा लेखकले प्रदर्शनका क्रममा आफूले बल प्रयोगको आदेश नदिएको दाबी गरेका छन्।
उनले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा कुनै हताहती नहोस् भनी सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको जिकिर गरे।
‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले स्पष्ट रूपमा भनेको थिएँ। पहिलो, कुनै हताहती नहोस्। दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु। तेस्रो, प्रदर्शनमा घुसपैठ हुन सक्छ, सतर्कता अपनाउनु,’ लेखकले बयानमा भनेका छन्, ‘मैले गोली चलाउनु वा दमन गर्नु भनेर कुनै लिखित वा मौखिक आदेश दिएको छैन।’
लेखकले जेन-जी समूहले उठाएका माग जायज भए पनि उक्त आन्दोलनलाई लोकतन्त्रविरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको दाबी गरे।
संसद् भवन, अदालत र सरकारी कार्यालय जलाउने कार्य जेन-जीको योजना नभई धमिलो पानीमा माछा मार्न चाहने समूहको नियोजित षड्यन्त्र भएको उनको ठहर छ।
घटनामा ठुलो मानवीय क्षति भएपछि आफूले पदमा बसिरहन उचित नठानेर नैतिकताको आधारमा तत्काल राजीनामा दिएको उनले आयोगलाई जानकारी गराएका छन्।
लेखकले वर्तमान सरकारले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन्। आयोगको सिफारिसमा सरकारले तीन महिनाअघि नै आफ्नो राहदानी रोक्का गरेको र काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको विषयमा उनले आपत्ति जनाए।
‘विना जानकारी र विना कारण यसरी नागरिकको स्वतन्त्रता कुण्ठित गर्नु विधिको शासनविपरीत हो,’ उनले भनेका छन्।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु र ठुलो जनधनको क्षति भएपछि अन्तरिम सरकारले यो जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले यसअघि नै तत्कालीन सुरक्षा निकायका प्रमुख र सरोकारवाला सरकारी अधिकारीहरूसँग बयान लिइसकेको छ।
लेखकलाई बयानका लागि आयोगले गत पुस ८ गते पत्राचार गरेको थियो।
प्रकाशित: १४ पुस २०८२ १६:४५ सोमबार