राजनीति

दुई तिहाइको घमण्डले देश एकादेशको कथा नबनोस्: किराँती

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले संवैधानिक परिषद्‌मा बहुमतको आधारमा आफन्तलाई भर्तीकेन्द्र बनाउने र निरंकुश शैलीमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति मान्य नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद किराँतीले ठूला पार्टी र तिनका नेताहरूबाट संस्थाहरूलाई क्रमशः कमजोर पार्दै लाने क्रियाकलापले देशलाई झन्‌झन् असफलता उन्मुख बनाउँदै लगेको आरोप लगाए।

उनले दुई तिहाइको बहुमत यस्तो घिनलाग्दो क्रियाकलापमा प्रयोग हुन नहुने बताए।

उनले भने, ‘दुई तिहाइ बहुमत, यस्तो घिनलाग्दो क्रियाकलापले जनताको मनभित्रबाट उठिरहेको घृणा, अविश्वास र नैराश्यताको आँधीले तपाईंहरूको घमण्ड देश एकादेशको कथा नबनोस्।’

उनले उपसभामुखमाथि लागेको आरोपको बिट मार्ने हो भने न्यायिक छानबिन हुनुपर्ने माग गरे।

लोकतन्त्रको एक आधारस्तम्भ नैतिकता भए पनि यहाँ नैतिकताको काँधमा राखेर नियतको बन्दुक पड्काउन खोजिएको उनको भनाइ थियो।

प्रकाशित: ४ भाद्र २०८२ १५:०२ बुधबार