नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ। यसअघि अधिवेशन असोज १६ देखि १९ सम्म गर्ने कार्यतालिका थियो।
कांग्रेसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन्। विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८३ १३:३१ मंगलबार