राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला हो बागलुङ। कुनै बेला बामपन्थीको लाल किल्ला रहँदा यहाँबाट चित्रबहादुर केसी पटक-पटक सांसद पदमा निर्वाचित भए। कुनै बेला बागलुङ जिल्ला तीन निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर १ मा एमालेलाई दिएर क्षेत्र नम्बर २ र ३ मा बाम गठबन्धन गरेर निर्वाचन जित्थ्यो। २०५१ र २०५६ मा त्यही कारण परी थापा तत्कालिन बागलुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
विस्तारै पार्टी भित्रको टुटफुटले राष्ट्रिय जनमोर्चालाई कमजोर बनाउँदै लग्यो र अन्य बामपन्थी पार्टीहरु हाबी हुँदै गए। राष्ट्रिय जनमोर्चा मुख्य घटकबाट सहायक घटक बन्न पुग्यो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबाटै चित्रबहादुर केसी निर्वाचित भए। तर समयचक्र यसरी फेरियो कि राष्ट्रिय जनमोर्चाको गढ रहेको बागलुङमा यो निर्वाचनमा जनमोर्चाका उम्मेदवारले जमानतसमेत जोगाउन नसक्ने अवस्था आयो।
बागलुङ जिल्लाबाट उठेका अन्य १५ जनासँगै राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीको समेत जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार बागलुङका दुई क्षेत्रबाट १६ जनाको जमानत जफत भएको छ।
‘बागलुङ क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट पनि ८ जनाको जमानत जफत भएको छ,’ उनले भने, ‘कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। क्षेत्र नम्बर १ बाट ३ जना र क्षेत्र नम्बर २ बाट ४ जनाको मात्रै १० प्रतिशत भन्दा बढि मत आएको छ।’
बागलुङ क्षेत्र नम्बर १ मा जमानत जोगाउनका लागि ४ हजार ७ सय बढि मत ल्याउनुपर्नेमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत मात्रै पाए। क्षेत्र नम्बर १ मा जमानत जफत हुनेमा राष्ट्रिय जनमोर्चाका अधिकारी सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, प्रलोपाका चित्रप्रसाद सापकोटा, मंगोल नेश्नल अर्गनाईजेसनका गुमाकुमारी बुढा रानामगर, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेकपा माओवादीका टेकबहादुर केसी रहेका छन्।
यस पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सुशिल खड्का, नेपाली काँग्रेसका भीमबहादुर राना (श्रीस) र नेकपा एमालेका हिराबहादुर खत्रीको मात्रै जमानत फिर्ता भएको छ। क्षेत्र नम्बर २ बाट पनि विजेता रास्वपाका सोम शर्मा, नेपाली काँग्रेसका टेकराज पौडेल, नेकपाका ज्ञामनाथ गैरे, नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले जमानत जोगाउन सफल भएका छन्।
क्षेत्र नम्बर २ बाट राप्रपाका अञ्चल शाही, प्रलोपाका पदमबहादुर कुँवर, मंगोल नेशनल अर्गनाईजेसनका जुनबहादुर थापामगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालका नरबहादुर बुढा, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा माओवादीका लोकेन्द्र घिमिरे, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्तीमगरको जमानत जफत भएको छ। यस पटक पनि जनमोर्चाले नेपाली कम्युनिष्ट पार्टीसँग चुनावी एकता गरेको थियो। बागलुङको धेरै निर्वाचनमा निर्णायक शक्तिको रुपमा रहेको जनमोर्चा जता मिल्यो उतै निर्वाचन जित्ने अवस्था हुन्थ्यो। त्यसअनुरुप क्षेत्र नम्बर १ मा राजमो र २ मा नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको थियो।
गठबन्धनबीच इमान्दारिता नहुनु र राष्ट्रिय परिस्थितीले पनि यो अवस्था आएको राजमो जिल्ला अध्यक्ष तिलक थापाको भनाइ छ। ‘मुख्य रुपमा त राष्ट्रिय रुपमा जे खालको परिस्थिती बन्यो त्यसले नै हामीलाई ठूलो असर गर्यो,’ उनी भन्छन्,‘अर्को कुरा हामीले गठबन्धनमा इमानदारिता पनि प्रस्तुत गर्न सकेनौं। त्यसले गर्दा पनि अहिलेको अवस्था देखिएको हो।’
निर्वाचन प्रचार प्रसार पुरानो शैलीले नयाँ पुस्तासम्म नपुग्नु आफुहरुको कमजोरी भएको उनी स्वीकार्छन् ।
‘हामी निर्वाचन सामग्री पर्चा पम्प्लेट छपाएर गाउँगाउँमा पठायौं तर स्क्रीनमा हेर्ने युवा जमातका लागि हामी पठाउनुपर्ने चिज पठाउन सकेनौं। त्यसमा हाम्रो कमजोरी रह्यो।’ नयाँ योजनाका साथ पार्टी पुनर्उत्थान गर्ने उनको भनाइ छ। 'यो त एउटा निर्वाचनको परिणाम मात्र हो, पार्टी जीवनमा यो भन्दा ठूला ठूलो संकटहरु व्यहोरेको छ,’ उनी भन्छन्, ‘परिस्थीति अनुसारको समीक्षा गरेर योजना बनाउँछौ। पार्टी फेरी उठ्छ त्यसमा हामी विश्वस्त छौं।’
प्रकाशित: २६ फाल्गुन २०८२ १४:५२ मंगलबार