राजनीति

नैतिकता सिकाउँदै योगेशले भने- जिब्रो चिप्लिँदा गोकुल बास्कोटाले राजीनामा दिनुभयो

नेकपा (एमाले) का नेता योगेश भट्टराईले राजनीतिक नैतिकताको कसीमा पुराना र नयाँ दलहरूलाई दाँज्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रहार गरेका छन्।

सामान्य बोलीका भरमा आफ्ना नेताहरूले पदत्याग गरेको उदाहरण दिँदै उनले गम्भीर आपराधिक काण्डमा मुछिएका नयाँ दलका नेताहरूले नैतिकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे।

बिहीबार प्रतिनिधि सभामा बोल्दै भट्टराईले विगतका घटनाहरूलाई स्मरण गराउँदै भने, ‘बोलेका भरमा, सामान्य टंग स्लिप (जिब्रो चिप्लिँदा) भएका भरमा राजीनामा दिने मान्य गोकुल बास्कोटा यहीँ हुनुहुन्छ। शेरबहादुर तामाङ जी हुनुहुन्छ। अस्ति रामहरि जीले दिनुभयो।’

भट्टराईले यी उदाहरणमार्फत आफ्नो पार्टी र अन्य पुराना दलहरूमा सानो नैतिक प्रश्न उठ्दा पनि पद छाड्ने परम्परा रहेको स्थापित गर्न खोजेका थिए।

यसको ठीकविपरीत, नयाँ र वैकल्पिक राजनीतिको नारा दिएर आएको रास्वपाले भने ठूला काण्डहरूमा मुछिँदा पनि मौन बसेको उनको आरोप थियो।

उनले रास्वपाका नेताहरूतर्फ लक्षित गर्दै भने, ‘यत्रा यत्रा काण्ड उठिरहँदा खेरि खै त ? नैतिकताको प्रश्न उठाउने साथीहरू ? नयाँ भन्ने ? जान्नेलाई छान्ने साथीहरू कहाँ गए ?’

भट्टराईले रास्वपाका नेताहरूमाथि लागेका आरोपहरूको लामो सूची प्रस्तुत गर्दै उनीहरूको नैतिकतामाथि प्रश्न उठाए।

‘मानव बेचबिखनमा संलग्न, सहकारी ठगीमा संलग्न, भिजिट भिसाको ठगीमा संलग्न, आर्थिक अपचलनमा संलग्न, बहुविवाहमा संलग्न, अनि अनैतिक काममा संलग्न जति सबै जान्नेलाई छान्नेहरू ?’ उनले भने।

प्रकाशित: ५ भाद्र २०८२ १५:२६ बिहीबार