राजनीति

रास्वपा विधान संशोधन गर्न कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। 

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई विधान आवश्यकताअनुसार संशोधन गरी कार्यविधि तयार गर्न सात दिनको समय दिइएको छ। 

पराजुलीले रास्वपाको विधान २०८३ लाई आवश्यकताअनुसार संशोधन गर्दै सांसदहरूलाई संसद्मा अझ प्रभावकारी, जिम्मेवार र जनपक्षीय रूपमा प्रस्तुत गराउने उद्देश्यले कार्यदल गठन गरिएको बताए। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यकअनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेका छौँ। उक्त कार्यदलले सात दिनभित्र कार्यविधि बनाएर आगामी दिनमा संसद्मा उपस्थित हुँदा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउन आवश्यक संशोधन गर्नेछ,’ उनले भने। 

बैठकमा सरकारको कामकारबाही तथा सांसदहरूको संसदीय भूमिकाबारे पनि छलफल भएको पराजुलीले जानकारी दिए। 

उनका अनुसार बैठकमा मन्त्रीहरूले आफूले गरेका कामको विवरण प्रस्तुत गरेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा गुनासा राखेका थिए। 

‘मन्त्रीहरूले आफूले गरेका कामहरूको ब्रिफिङ गरिराख्नुभएको छ। सांसदहरूले पनि आ–आफ्ना क्षेत्रका समस्या र गुनासा राख्नुभएको छ। सरकार र सांसदबीच कहाँ त्रुटि भइरहेको छ, सरकारले काम गरिरहेको भए पनि जनतासम्म किन पुग्न सकेको छैन, कहाँ कमजोरी र त्रुटि भइरहेको छ भन्ने विषयमा छलफल जारी छ,’ पराजुलीले भने। 

प्रकाशित: ३ भाद्र २०८३ १४:१७ बुधबार