नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। बिहान ९ बजेदेखि सुरु भएको बैठक साँझ ७ बजेसम्म सञ्चालन गर्ने तयारी केन्द्रीय कार्यालयको छ।
बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताइन्। अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको उनको भनाइ थियो।
१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै १ वर्ष बाँकी रहेको, विशेष अवस्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान पनि रहेकोले अहिले जथाभावी ढंगले नेतृत्वको मान मर्दन गर्ने, राजीनामा गराउने भन्ने कुरा उचित नभएको ढकालले बताइन्। ‘पार्टीको ११ औं महाधिवेशन घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरु अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दै हुनुहुन्छ’ ढकालले भनिन् ‘अब कसलाई अध्यक्ष बनाउने, कसलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो । महाधिवेशन अघि नेतृत्व परिवर्तन भन्ने कुरा बेमौसमको बाजा हो ।’
ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति, जेनजी आन्दोलन र यसका असर तथा भावी कार्यदिशा बारे स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन् । पार्टीले अलग्गै आयोग बनाएर भदौं २४ गतेको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै उनले पार्टीभित्र एकमना एकता गराएर कार्यकर्ताको मनोबल बढाउने र एमालेप्रति जनताको विश्वास जगाउने समय आएको बताइन्।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।
प्रकाशित: ३० आश्विन २०८२ १२:५७ बिहीबार