नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीहरुबीचको एकता भावनात्मक कुराले मात्र सम्भव नहुने भन्दै यथार्थको धरातलमा टेकेर अघि बढ्न आग्रह गरेका छन्।
आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले जननेता भण्डारीको भनाइ उद्धृत गर्दै ‘कुराले मात्र चिउरा नभिज्ने’ बताएका हुन्।
नेपालका सम्पूर्ण कम्युनिस्ट घटकहरुले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सही निष्कर्षमा पुगेपछि मात्र सबैलाई एक ठाउँमा ल्याउन सकिने बताए।
‘मदन भण्डारी भन्नुहुन्थ्यो, कुराले चिउरा भिज्नेवाला छैन। त्यसका लागि कि पानी चाहिन्छ, कि दुधै चाहिन्छ,’ सह-संयोजक नेपालले भने, ‘भावनाको कुरा गरेर मात्र हुँदैन, अहिलेको यथार्थताको धरातलमा टेकेर, व्यापक छलफल र बहस चलाएर मिल्न सक्ने कुराहरुमा मिलेर अगाडि बढ्नुपर्छ।’
उनले मार्क्सवाद र लेनिनवादप्रति प्रतिबद्ध सर्वहारा वर्गको अगुवा पार्टी भएका नाताले समाजको आमूल परिवर्तनको सोच राख्नुपर्ने बताए। जनताका समस्या र पीडालाई सम्बोधन गर्न कम्युनिस्टहरु संसद्, सडक र जनताको घरदैलोमा कति पुग्न सकेका छन् भनी उनले नेतृत्व र कार्यकर्तामाथि नै प्रश्न समेत गरे।
‘जबसम्म हामी आत्मकेन्द्रित चिन्तन र स्वार्थी मनोविज्ञानलाई त्याग्दैनौं, तबसम्म हाम्रा कुराहरु कपोलकल्पित गफ बाहेक केही हुँदैनन्,’ उनले भने।
विगतमा चुनौती देखेपछि खुट्टा कमाउने र मैदान छोडेर भाग्ने प्रवृत्ति देखिएको भन्दै उनले दृढताका साथ चुनौतीको सामना गर्न कार्यकर्तालाई निर्देशित गरे।
प्रकाशित: १४ असार २०८३ १५:५३ आइतबार