राजनीति

शेखर पक्षका नेता भन्छन्: कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन, चन्दा कि बात करते हो !

नेपाली कांग्रेसका नेता केदार कार्कीले सांसद एवं अर्बपति व्यवसायी विनोद चौधरीप्रति आक्रामक अभिव्यक्ति सार्वजनिक गरेका छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कांग्रेस चौधरी ग्रुप हुन नसक्ने भन्दै अभिव्यक्ति दिएका छन्। 

‘कुनै समूह वा व्यक्ति चौधरी ग्रुपमा गए पनि समग्र कांग्रेस चौधरी ग्रुप हुन सक्दैन,’ कार्कीले लेखेका छन्, ‘स्व.कृष्णप्रसाद कोइराला भन्सारको ठेकेदार हुनुहुन्थ्यो, सर्वस्व गएको हो । चन्दा के बात करते हो ।’ 

कार्कीले सुवर्ण शमशेरले सम्पत्ति पार्टीलाई दिएर पार्टीमा समाहित भएर राणा शासन फाल्ने अभियानमा लागेको भनेर उल्लेख गरेका छन्। ‘पार्टीमा लामो योगदान भएकाहरू पनि सानो लोभले राजनीतिक जीवन कलंकित बनाएका छन्।  पार्टीले व्यापार र व्यवसायीको संरक्षण गर्नुपर्छ। तर व्यापारीकरण गर्न प्रयत्न गरे सहन सकिन्न,’ कार्कीले लेखेका छन्। 

त्यसपछि उनी कांग्रेसको अनुशासन समितिले केही नेतामाथि गरेको कारबाहीमा प्रवेश गरेका छन्। ‘अहिलेको कारबाही पूर्वाग्रही र व्यापारीकरणको पाइला हो,’ उनले लेखेका छन्। 

कांग्रेसको अनुशासन समितिले बुधवार लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहितका नेताकार्यकर्तालाई कारबाही गरेको थियो। त्यसलाई नेता डा. शेखर कोइरालाको समूहले चित्त बुझाएको छैन। कारबाही भोग्ने खनालसहितका धेरैजसो नेता शेखर समूहकै नेता मानिन्छन्। 

खनालमाथि सांसद चौधरीले अन्तर्घातको आरोप लगाउँदै आएका थिए। केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा शेखरले चौधरीमाथि प्रश्न उठाउँदा उनले आक्रामक रूपमा प्रतिवाद गरेका थिए।

त्यसयता शेखर समूहका नेता चौधरीप्रति आक्रामक सुनिँदै आएका छन्। कार्की पनि शेखर समूहकै नेता हुन्। 

प्रकाशित: २६ असार २०८२ १४:२० बिहीबार

#Binod Chaudhary #Dr.Shekhar Koirala