राजनीति

आँबुखैरेनी र भरतपुर जोड्ने घुमाउने पुल नयाँ प्रक्रियाबाट बन्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर जोड्ने घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्कामार्फत अघि बढ्ने बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा बुधबार आयोजित भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अघिल्लो ठेक्का तोडिसकिएकाले अब नयाँ खरिद प्रक्रियामार्फत पुलको काम निर्माण हुने बताए।

विगतमा सांसद रहँदा पनि आँबुखैरेनी र भरतपुर जोड्ने सो पुलबारे आफूले संसद्मा पटक-पटक आवाज उठाएको स्मरण गराउँदै उनले बाढीका कारण पुगेको क्षति र डिजाइन परिवर्तनको दबाब जस्ता कारणले निर्माणमा ढिलाइ भएको बताए।

पूर्वाधार विकासमन्त्रीलाई भेटेरै घुमाउने पुलको काम जसरी पनि सुरु गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘खरिद ऐन नै संशोधन गरेर विकास निर्माणलाई थप गुणस्तरीय बनाउने प्रयासमा हामी लागेका छौं।’

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकास, पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्री डा. वाग्लेको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २७ श्रावण २०८३ २१:२७ बुधबार