राजनीति

सञ्चारगृह अगाडि शंकास्पद गाडी प्रकरण : सरकारलाई रास्वपा नेता झाको प्रश्न- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौंका विभिन्न मिडिया हाउस र व्यावसायिक प्रतिष्ठानको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले आपत्ति जनाएका छन्। 

सञ्चारगृह अगाडि गाडी राखेर अवरोध सिर्जना गर्ने काम गलत रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।

नेता झाले भनेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतंकित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

काठमाडौंका कान्तिपुर पब्लिकेसन, अनलाइन खबर, हिमालय टेलिभिजनलगायतका मिडिया हाउस र नेपाली कांग्रेसका सभापति गगन थापाका निवास अगाडि अज्ञात व्यक्तिले शंकास्पद रूपमा गाडी बेवारिसे छाडेका थिए। सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाब दिने वा आतंकित पार्ने उद्देश्यले यसो गरिएको भन्दै नेपाल पत्रकार महासंघ र विभिन्न राजनीतिक दलले विरोध जनाएका छन्। प्रहरीले क्रेनको सहायताले ती गाडी हटाएर अनुसन्धान अघि बढाएको छ।

केही सञ्चारगृह अगाडि रास्वपा नेताको गाडी रहेको पाइएपछि सत्तारुढ दल रास्वपामाथि नैतिक प्रश्न उठेको हो। विवाद बढेपछि रास्वपा सभापति रवि लामिछानेले घटनामा आफ्ना कार्यकर्ता संलग्न भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ३१ असार २०८३ ०९:२७ बुधबार