राजनीति

लहैलहैमा नलाग्न युवा विद्यार्थीहरूलाई उपप्रधानमन्त्री सिंहकाे आग्रह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन्। नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नं २ ले आयाेजना गरेकाे एसइई सम्मान कार्यक्रममा बाेल्दै उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेकाे भन्दै यस्ताे आग्रह गरेका हुन्।

`देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खाेजिएकाे छ। जसले जे भन्याे त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन। युवा विद्यार्थीले सत्यतथ्य के हाे? विवेककाे प्रयाेग गरेर बुझ्नुपर्छ,´ उपप्रधानमन्त्री सिंहले भेने, `लहैलहैमा नलागाैं। केही भएन भन्ने सत्य हाेइन। विगतमा के थियाे र अहिले के परिवर्तन भएकाे छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग साेध्नुभयाे भने थाहा हुन्छ। धेरै कुरा भएकाे छ, अझै गर्न बाँकी धेरै छ।´

उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएकाे बताए। आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनाैटकाे सीमितता रहेकाे भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरकाे शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेकाे बताए। `तपाईं हामीले नै हाे नेपाल बनाउने। देशलाई विकास निर्माणकाे बाटाेमा देशलाई अगाडि बढाउने,´ उपप्रधानमन्त्री सिंहले भने।

अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेकाे भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे। अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेकाे भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे।

प्रकाशित: २८ असार २०८२ १२:३७ शनिबार

#NepaliNews #NagarikNews