सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्चको आदेश आएलगत्तै आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसका सदस्यले देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको बताएका छन्।
‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ। यो कसैको हार वा जित होइन। अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ।’ उनले विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ भनेका छन्।
यस्तै अर्का महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्। उनले भनेका छन् ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन। एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो।’
प्रकाशित: ५ वैशाख २०८३ ०६:२३ शनिबार