राजनीति

राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश दिएको छ। 

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो। 

दाहालकी छोरी डेनी दाहालले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो। 

दाहाललाई प्रहरीले असोज ४ गते मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सामाजिक सञ्जाल तथा आफ्नै युट्युब च्यानलमार्फत समसामयिक राजनीति, भूगोल तथा भूराजनीतिसम्बन्धी विषयमा अभिव्यक्ति दिएको र भ्रामक तथा तथ्यहीन सामग्री प्रसारण तथा प्रकाशन गरेको आरोपमा उनलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो। 

साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको थियो। मोरङ प्रहरीका अनुसार साइबर ब्युरोबाट प्राप्त पक्राउ अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको थियो। 

दाहाललाई पक्राउ गरेपछि अनुसन्धानका लागि साइबर ब्युरोले अदालतबाट तीन दिनको म्यादसमेत लिएको थियो।  

यसअघि असोज ६ गते सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुको कारण र आधार खुलाउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।  

दाहाललाई पक्राउ गरिएको विषयमा प्रहरीले उनीमाथि सामाजिक सञ्जाल तथा युट्युबमार्फत अफवाह र तथ्यहीन सामग्री प्रसारण गरेको आरोप लगाएको थियो। 

प्रकाशित: ८ आश्विन २०८३ १६:२७ बिहीबार