सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल थुनामुक्त गर्न महोत्तरी कारागार कार्यालयलाई पत्राचार गरेको छ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले बिहीबार महोत्तरी कारागार कार्यालयलाई पत्र पठाउँदै बन्दीप्रत्यक्षीकरणसम्बन्धी आदेशअनुसार लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए तत्काल रिहा गर्न निर्देशन दिएको हो।
अदालतका शाखा अधिकृत रितवीप्रसाद पराजुलीद्वारा हस्ताक्षर गरिएको पत्रमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार निवेदकलाई थुनामुक्त गर्न भनिएको छ। साथै, आदेशको प्रमाणित प्रतिलिपिसमेत पत्रसँगै पठाइएको उल्लेख छ।
पूर्वसांसद कोइरीको हकमा उनका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय गौशाला, जिल्ला प्रहरी कार्यालय महोत्तरी, महोत्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरलाई समेत बोधार्थ पठाएको छ।
प्रकाशित: ३२ असार २०८३ १७:२८ बिहीबार