सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सरकारविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दाहाललाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
दाहाललाई रिहा गर्न माग गर्दै उनकी छोरी डेनिकाले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्।
उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीलाई आदेश दिएको हो।
यता, मोरङको सलकपुरबाट आइतबार पक्राउ परेका दाहालमाथि अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोले अदालतबाट तीन दिनको म्याद लिइसकेको छ।
दाहाल विभिन्न राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन गत २ असोजमा कोशी प्रदेश गएका थिए। शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला उनलाई सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरस्थित एक चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालको जेनजी आन्दोलनका विषयमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको अभियोग छ। उनले गत भदौ २७ गते सामाजिक सञ्जालमा अमेरिकी पत्रिकामा अर्को विस्फोट शीर्षक राखेर ग्रे जोनको उक्त सामग्री सेयर गरेका थिए।
प्रकाशित: ६ आश्विन २०८३ १६:०५ मंगलबार