सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको मृत्यु भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले दुःख व्यक्त गर्दै परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
सामाजिक सञ्जालमार्फत सभापति थापाले आफू अत्यन्त मर्माहत भएको बताउँदै मण्डलका सन्तानको शिक्षा–दीक्षाको जिम्मेवारीमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता गरेका छन्।
उनले भनेका छन्, ‘यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।
’त्यस्तै, रास्वपाका नेता सिंहले पनि मण्डलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारलाई आजीवन सहयोग गर्ने घोषणा गरेका छन्।
सिंहले उपचारका क्रममा मण्डललाई बचाउन आफ्नो व्यक्तिगत प्रयास, सरकार र चिकित्सकहरूको तर्फबाट प्रयास गरेको बताउँदै उनले अथक प्रयासका बाबजुद उनको निधन भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत, सरकार र डाक्टरहरूले कुनै कसर बाँकी राखेका थिएनन्। अथक प्रयासका बाबजुद उनको निधन भएको छ। उहाँको दुःखद तथा असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। विवेकको परिवारलाई आफूबाट हुन सक्ने हरेक सहयोग आजीवन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
’आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा आज बिहान निधन भएको हो।
प्रकाशित: ३० असार २०८३ ११:३० मंगलबार