सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कामयमुकायम (कामु) प्रधान्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिएका छन्।
कानुन दिवसको अवसरमा शनिबार आयोजित एक कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले दु्ई तिहाइको सरकारको दबाब र महाभियोगको त्रासबाट टाढा रहेर न्यायसम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई आग्रह गरेकी थिइन्। कामु प्रधानन्यायाधीश मल्लले कार्यपालिकाको कार्यशैलीमाथि रोष प्रकट गर्दै व्यवस्थापिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेकी थिइन।
‘कानुन व्यवसायी हुँदादेखि नै म आफैंले जीवनभर विभेद र अन्यायको लडाइँ लडें। लडाइँ अझै बाँकी छ। गम्भीर र कहालीलाग्दो समयमा संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रतालाई संरक्षण गर्न आमनागरिक, नेपाल बार एसोसियसन, आमसञ्चार, नागरिक समाजलगायत सबै सरोकारवाला संस्था र व्यक्तिहरूलाई हार्दिक अपिल गर्छु,’ उनले भनेकी थिइन्।
मल्लको यो भनाइ सार्वजनिक भएपछि आइतबार रास्वपा सभापति लामिछानेले पनि काउन्टर अभिव्यक्ति दिएका हुन्। रास्वपाका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो गर्दन अहिले पनि अदालतमै रहेको बताउँदै रिस उठेको भए हतियार चलाउन चुनौती दिए। ‘मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्दन अहिले पनि त्यही छ। त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार। बुझाएर आएको छु आफ्नो गर्दन। होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनुहुँदैन,’ उनले भने।
प्रधानन्यायाधीशका लागि प्रस्तावित ६ जना नै योग्य भएको लामिछानेले बताए। ‘एक जना कसैले भनिदिओस्, कसरी असंवैधानिक भयो? ६ जनालाई योग्य भनेर संवैधानिक सिफारिस किन गरेको? त्यहीँ असंवैधानिक भयो होला नि! ६ जनाको साटो वरिष्ठतम जो हुनुहुन्छ, उहाँलाई नै दिनुपर्ने भनेर संविधानमा भनेको भए हुन्थ्यो। संवैधानिक परिषद्को बैठक नै बस्नुपर्दैनथ्यो,’ उनले भने।
परम्परा भत्काइएको विषयमा टिप्पणी गर्दै उनले परम्परा पछ्याइएको भए भागबन्डामै जानुपर्ने बताए।
‘परम्परा भत्काइयो भनिएको छ। त्यही परम्परामा जाने भइदिएको भए ६ जनाको उपस्थिति भएको संवैधानिक परिषद्मा कसलाई कति जना भागबन्डा लगाउने भनेर छलफल चलिरहेको हुन्थ्यो। एक जनामा सकिन्नथ्यो,’ उनले भने, ‘तर हामीलाई भागबन्डामा विश्वास छैन। हामी राजनीतिमा आउनुपूर्व नै बनेको विधि हो। हामी सरकारमा आउनुअघि सर्टलिस्ट आइपुग्यो। त्यसमध्ये एउटा छान्नुस् भनियो। त्यही विधिलाई मानेर एक जनालाई सिफारिस गरिएको हो। न्यायालयका विषयलाई धेरै अप्ठेरो बनाएर, टसल गरेर, चुनौतीपूर्ण ढंगको अभिव्यक्ति दिएर के लाभ हुन्छ? जगहँसाइ मात्र हुन्छ।’ लामिछानेले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिस संविधानसम्मत रहेको बताए। स्थापित विधि र प्रक्रियाबाटै प्रधानन्यायाधीश सिफारिस भएको उनको भनाइ थियो।
सभापति लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिएका छन्। दुई दिन चलेको प्रशिक्षण कार्यक्रमको समापनसभालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले रविका मान्छे र बालेनका मान्छे भन्दै हल्ला गर्ने गरिएको बताउँदै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए। ‘म त यताको हो नि, म त उताको हो नि भनेका कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ। हामी यत्तिकै एउटा कार्यकालका लागि मिलौं न त भन्ने होइन। यो देशको इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौं,’ उनले भने, ‘हामी व्यक्तिगत कुरालाई माग र मुद्दा बनाएर हिँडेका छैनौं। त्यसकारण यो सब बन्द गर्नुपर्छ। यसको कुनै गुन्जायस छैन।’
लामिछानेले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गरे। प्रधानमन्त्री शाह र आफूबिच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ थियो। उनले आफूहरूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रूपमा परिपक्व भएको बताए। उनले आफूहरू नयाँ भए पनि बेवकुफ नभएको स्पष्ट पारे। फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाउने दाबी उनले गरे।
प्रकाशित: २८ वैशाख २०८३ ०७:२० सोमबार



