राजनीति

आलोचकलाई सुमनाको जवाफ: हो, म अवसरवादी हुँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आफूलाई अवसरवादी भन्ने आलोचकहरूलाई एक कवितामार्फत जवाफ दिएकी छन्।

बुधबार सामाजिक सञ्जालमा ‘म अवसरवादी !’ शीर्षकमा एक कविता सार्वजनिक गर्दै उनले देश र जनताको सेवा गर्ने अवसर खोज्नुलाई नै आफूले अवसरवाद मान्ने गरेको बताइन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता ‘पागल’ बाट प्रेरित रहेको उक्त कवितामा श्रेष्ठले जनताको पीडामा मलम लगाउने, अन्धकारमा आशाको बत्ती बाल्ने र न्यायको बाटोमा हिँड्ने अवसरलाई नै आफूले रोजेको बताइन्।

‘यदि सेवा गर्नु अपराध हो भने, म त्यो अपराध स्वीकार्छु,’ कवितामा लेखिएको छ, ‘यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, म पागलपन स्वीकार्छु।’

कवितामार्फत उनले राजनीतिक मौनतालाई पनि अपराधको संज्ञा दिइन्। परिवर्तनको घडी रोकिएमा फेरि भ्रष्टहरूको दिन फर्कने चेतावनी दिँदै उनले लेखेकि छन्, ‘तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौं, अवसरवादी भनेर चिच्याउन सक्छौ, तर म मौन रहन्न, किनभने, मौनता पनि अपराध हो।’

यस्तो छ उनको कविता :

म अवसरवादी !

हो, म अवसरवादी हुँ,
जनताको पिडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु!

हो, म अवसरवादी हुँ,

किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँसु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरुको दिन आउनेछ, सर्वत्र अध्यारो छाउनेछ।

तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
‘अवसरवादी !’ भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न,
किनभने, मौनता पनि स्वीकृति हो।
मौनता पनि अपराध हो।

म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने।

यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु।
किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काँख
र मानेको छु - देश मरेको छैन,
देश त केवल निदाएको छ।

त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै।
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम ‘अवसरवादी’ करार हुदा पनि,
सबै भन्दा खुसि मै हुनेछु।

प्रकाशित: २६ कार्तिक २०८२ २१:२२ बुधबार