राजनीति

सुमना र सन्तोषले छोड्दैमा रास्वपाको रेल रित्तिएको छैन: खनाल

फाइल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले पार्टीका केही नेताहरूले साथ छोड्दैमा रास्वपा कमजोर नभएको दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले सुमना श्रेष्ठ र सन्तोष परियार लगायतका नेताहरू बाहिरिए पनि अबको निर्वाचनबाट देशको नेतृत्व गर्ने हैसियत रास्वपाले नै राख्ने बताए।

पत्रकारहरूले ‘सुमना श्रेष्ठ र सन्तोष परियारले छोडेपछि रास्वपाको रेल रित्तियो नि ?’ भनी सोधेको प्रश्नमा खनालले भने- ‘उहाँहरूले पार्टी छोड्दा व्यक्तिगत रूपमा मलाई र सभापति रवि लामिछानेलाई दुःख लाग्नु स्वाभाविक हो,’ खनालले भने, ‘तर साथीहरू जाँदैमा पार्टीको यात्रा रोकिँदैन। हामी पूर्ण आत्मविश्वासका साथ अबको निर्वाचनमा देशको नेतृत्व लिने गरी अघि बढेका छौं।’

साथै, नेता खनालले विघटित संसद पुनःस्थापना हुन लागेको भन्ने चर्चा निराधार हल्ला भएको बताए। उनले जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै संसदको औचित्य समाप्त भइसकेको जिकिर गरे।

‘जलेको संसद फेरि ब्युँतिन्छ र बाँकी कार्यकाल खान पाइन्छ भनेर कोही नेताले सपना देखेका छन् भने त्यो भ्रम हो,’ खनालले प्रतिक्रिया दिँदै भने, ‘दुई तिहाइको सरकार र संसदको औचित्य सकिएरै हामी नयाँ जनादेशको मागमा छौं। अबको निकास पुनर्स्थापना होइन, निर्वाचन नै हो।’

उनले अघिल्लो सरकारले सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको भन्दै अबको परिस्थितिमा रास्वपा जनताको बलमा स्थापित हुने दाबी समेत गरे।

प्रकाशित: १० मंसिर २०८२ १६:०८ बुधबार