नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई स्वीकार गरेकी छन्।
शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले पार्टीमा आएको परिवर्तनलाई जनता तथा युवाको चाहना अनुसार भएको बताइन् र यसलाई खुसीसाथ अँगाल्नुपर्नेमा जोड दिइन्।
भिडियोमा उनले भनिन्, ‘देशमा धेरै परिवर्तन आएको छ। हामीले परिवर्तनसँग डराउनु हुँदैन। युवाले, समाजले, नेपाली जनताले परिवर्तन खोजेको छ। त्यसैले परिवर्तनलाई हाँसेर अँगालो मार्नुपर्छ। नेपाली कांग्रेसमा परिवर्तन आएको छ। नयाँ सभापति आएका छन्। नयाँ सभापति गगन थापालाई बधाई दिन चाहन्छु। नेपाली कांग्रेसलाई राम्रोसँग हाँक्नुहोस्, बिपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी अघि बढ्नुहोस्। यो देशको उन्नति गर्नुहोस्।’
उनले पार्टी फुटेको नभई परिवर्तन मात्र भएको स्पष्ट पारिन्। पार्टीको मूल चिन्ह रुख, चार तारे झन्डा र संरचना यथावत् रहेको उल्लेख गर्दै सबैले परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार गर्न आग्रह गरिन्। निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएको थियो।
नेतृ कोइरालाले कानुनी व्याख्या बढी नगरी जनताको म्यान्डेटलाई सम्मान गर्नुपर्ने बताइन्। विशेष महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति निर्वाचित भएका थिए। उनले आगामी नियमित महाधिवेशन (बैशाखमा हुने) बाट थप परिवर्तन र नयाँ नेतृत्व चयन गर्न सकिने तर्क पनि राखेकी छन्। यसबिच शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगले न्याय नगरेको भन्दै आइतबार सर्वोच्च अदालत जान लागेको छ।
प्रकाशित: ३ माघ २०८२ १२:३८ शनिबार