राजनीति

गोरखा पुगेर सुधन गुरुङले भने : चार महिनामै कायापलट गराउन सक्दिनँ, भोट फिर्ता लगे हुन्छ

गृहमन्त्री सुधन गुरुङले स्थानीयवासीलाई ‘भोट फिर्ता’लैजानुस् भनेको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

आइतबार बेलुकी सहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङमा मतदातासँग गुनासा र समस्या सुन्ने क्रममा उनले ‘भोट फिर्ता लैजानुस्' भन्ने अभिव्यक्ति दिएका हुन्।

मन्त्री गुरुङले चुनावअघि वडामा एउटा ल्याब बनाइदिने वाचा गरेका थिए। भेटका क्रममा स्थानीयले बजेटमा कार्यक्रम मन्त्रीको वाचा नपरेको गुनासो गरेका थिए।

स्थानीयले त्यसको लागि बजेट खोइ त? भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले भने, ‘सुन्नुस्, सुन्नुस्, सुन्नुस्। यस्तो साना-साना बजेटहरू यसरी किताबमा राख्ने हो भने महाभारत र रामायण दुइटा मिक्स गरेर पनि बन्दैन। त्यसको लागि हामीले के गर्‍या छौँ भन्दाखेरि, लिस्ट मगाएका छौँ यहाँबाट। के राख्ने भनेर लिस्ट त चाहियो होला नि हामीलाई, हैन?’

‘तपाईँहरूले मलाई जिताएको १ वर्ष भयो कि ५ वर्ष?’ उनले भने, ‘चार महिनामा तपाईँको बल्ल पहिलो बजेट हाम्रो आएको छ। पहिलो बजेट साउन १ गते आएको हो। साउन १ गते भनेको कहिले हो? कति दिन भयो?’

उक्त कार्य वडाको रहेको र वडाको बजेटमा राख्न निर्देशन दिँदै उनले भने, ‘वडाको योजना सबै लिस्टमा राख्ने हो भने त लिस्ट कति ठुलो हुन्छ। वडा स्तरका हरेक कुरा राख्ने हो भने राज्यको लिस्ट कति हुन्छ होला? त्यसरी मिल्दैन। हामीले गर्ने भनेको काम हो। तपाईँलाई काम भए पुग्ने हैन र?'

यस्तै, उनले चार महिनामा चाहिँ कायापलट गराउन नसक्ने जिकिर गर्दै भने, ‘अब चार महिनामा चाहिँ कायापलट गराउन म सक्दिनँ सिधै। भोट लिएर जानु भए हुन्छ।’

प्रकाशित: १ भाद्र २०८३ १२:४७ सोमबार