राजनीति

सुदनले भने- मिलाएरै छोड्यौं, अब रवि, बालेन र कुलमान सँगै चुनाव लड्नेछन्

हामी नेपालका संयोजक एवं जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने र कुलमान घिसिङबिच चुनावी तालमेलमा सहमति जुटेको दाबी गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले लामो रस्साकस्सीपछि तीनै जना नेतालाई एकै ठाउँमा ल्याउन आफूहरू सफल भएको बताएका हुन्। उनले आफूबिचमा बसेर दुवै जनासँगको फोटो पनि राखेका छन्।

उनले आगामी निर्वाचनमा रवि, कुलमान र बालेनसँगै लड्ने सुनिश्चित भएको उल्लेख गरे।

गुरुङले  लेखेका छन् ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोड्यौं र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबिच सहमति भइसके पनि कुलमान घिसिङसँग पदीय भागबन्डामा कुरा मिल्न सकेको थिएन।

सोमबार साँझ गुरुङसहितको युवा टोलीले घिसिङलाई वार्तास्थलमै पुर्‍याएर सहमतिका लागि दबाब दिएको थियो।

प्रकाशित: १४ पुस २०८२ १९:४१ सोमबार