राजनीति

महेश बस्नेतको ‘एआई जनसागर’ माथि सुदनको व्यंग्य- अझै ताली बज्छ भन्ने भ्रम छ ब्रो ?

जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले नेकपा (एमाले) का नेता महेश बस्नेतले महाधिवेशनको भिड देखाउन ‘एआई’ को प्रयोग गरेको भन्दै व्यंग्य गरेका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रको तस्बिरलाई लिएर सामाजिक सञ्जालमार्फत गुरुङले बस्नेतको आलोचना गरेका हुन्।

नेता बस्नेतले ५ लाख मान्छे उतार्ने दाबी पूरा नभएपछि प्रविधिको दुरुपयोग गरेर भिड देखाउन खोजेको गुरुङको आरोप छ।

उनले फेसबुकमा लेखेका छन्, ‘५ लाख मान्छे ल्याउने दाबी फेल भयो, त्यसपछि उपाय फेर्दै ड्रोनको फोटो च्याटजीपीटीमा हालियो र भनियो- ५ लाख देखिने बनाइदेऊ। अनि अझै पनि हामी नेपालीले फोटो देखेर ताली बजाउँछौँ भन्ने भ्रममा बाँच्ने आत्मविश्वास चाहिँ सही हो महेश ब्रो।’

एमाले नेता महेश बस्नेतले महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने दाबी गरेका थिए। शनिबार उनले सामाजिक सञ्जालमा महाधिवेशनको तस्बिर राख्दै, ‘एमालेको उद्घाटन सभामा यो उपस्थिति जनसागरको एउटा थोपा मात्रै हो’ भन्ने क्याप्सन लेखेका थिए।

तर, उनले शेयर गरेका चार तस्बिरमध्ये एउटामा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम भिड थपिएको पाइएको छ।

एआई टुल ‘जेमिनाई’ प्रयोग गरी बनाइएको कृत्रिम भिड।
वास्तविक तस्बिर। तस्बिर: दिपेश दर्शनधारी/नागरिक

भिड ठूलो देखाउने होडमा एआई निर्मित तस्बिरलाई वास्तविक भन्दै प्रचार गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको आलोचना गर्दै ‘ट्रोल’ बनाइरहेका छन्।

प्रकाशित: २७ मंसिर २०८२ १९:४२ शनिबार