नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले व्यक्तिको इच्छालाई कानुन ठान्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सरकारमा बसेका व्यक्तिहरूले शक्तिको स्वेच्छाचारी प्रयोग गरेको भन्दै त्यसले सीमा नाघेको टिप्पणी गरेका छन्।
‘केही सानो समूहले “वी आर द स्टेट” भन्न थाले। शक्तिको स्वेच्छाचारी प्रयोग भयो। सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्न थालियो। यो प्रवृत्ति जस्तो देखियो। यसले हद नाघेको छ,’ थापाले भने।
थापाले सरकारका गलत गतिविधिबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन्।
यसअघि सञ्चारमाध्यमको गेटमा गाडी पार्क गरिएको घटनामा रास्वपाले वक्तव्य जारी गरेको प्रसंग स्मरण गर्दै उनले त्यसपछि के कारबाही भयो भन्ने प्रश्न गरेका छन्। ‘हामीलाई रास्वपाको वक्तव्य होइन, परिणाम चाहियो,’ उनले भने।
थापाले सरकारका राम्रा कामको श्रेय लिने तर विवादास्पद र गलत कामको जिम्मेवारी प्रधानमन्त्रीमाथि मात्रै छाड्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
‘सरकारले राम्रो काम गरेको छ भने रास्वपा, सरकारको कुनै काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री? सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन?’ थापाले प्रश्न गरे।
उनले सत्तारूढ दलले सरकारका निर्णय र गतिविधिप्रति संस्थागत रूपमा जवाफदेही हुनुपर्ने धारणा राखेका छन्। काण्डको अनुसन्धान निष्पक्ष हुनुपर्ने विभिन्न काण्ड तथा प्रकरणको अनुसन्धानमा निष्पक्षता कायम हुनुपर्नेमा जोड दिँदै थापाले छानबिन चयनात्मक हुन नहुने बताएका छन्।
‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन्, सबै केलाइयोस्। हाम्रो साथ–समर्थन रहन्छ। तर हाम्रो प्रश्न छ– अनुसन्धान निष्पक्ष हुन्छ? सेलेक्टिभ भइरहेको छ। केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ?’ उनले भने।
प्रकाशित: १५ कार्तिक २०८३ १५:५० आइतबार