राजनीति

विपत्तिमा राजनीति बन्द गर, जनताको भावनामा खेलबाड नगर : विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले विपत्तिका समयमा जनताको भावनामा खेलबाड नगर्न अनुरोध समेत गरे।

रिमालले यस्ता विपत्तिमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनर्स्थापना तथा पुनर्निर्माण (रिहाबिलिटेसन) का काम सँगसँगै अघि बढाउनुपर्ने बताए। उनले केन्द्रदेखि स्थानीय तहसम्म सरकार तथा सरकारी निकायलाई समन्वयात्मक ढंगले परिचालन गर्नुपर्ने र जनताका संगठनहरूलाई समेत सहयोगमा परिचालन गर्नुपर्ने भनाइ राखे।

तर फिल्डको अवस्था हेर्दा केन्द्र सरकार एक्लै चल्न खोजिरहेको जस्तो देखिएको रिमालको आरोप छ। राज्यको सामर्थ्य परिचालन गर्ने जनादेश पाएकाहरूले त्यही सामर्थ्यलाई नियन्त्रणमा राखेर जनतालाई केवल ‘प्रचारका खुराक’ पस्किँदा अन्याय हुने उनले बताएका छन्।

रिमालले केही मन्त्री विगतमा संलग्न रहेका वा हाल उनीहरूद्वारा प्रवर्द्धित गैरसरकारी संस्थाहरू (एनजिओ) ले राहतका नाममा ‘फिल्ड-कब्जा’ गर्न थालेको सुनिएको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'धेरैको विपत्ति केहीका लागि व्यापारको अवसर बन्छ भन्ने सुनेको थिएँ। सुनिँदै छ, केन्द्रका केही मन्त्री विगतमा संलग्न रहेको वा हाल उनीहरूद्वारा प्रवर्द्धित एनजिओहरूले राहतको नाममा ‘फिल्ड-कब्जा’को धन्दा सुरु गरेका छन्।'

रिमालले विपद्को समयमा राजनीतिक गतिविधि बन्द गर्न र सहयोग गर्न चाहने सबैलाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन्। 'विपत्तिमा राजनीति बन्द गर। सहयोग गर्न चाहनेलाई सहजीकरण गर। सके दुःखमा मल्हम लगाऊ– नसके जनताको भावनामा प्लीज खेलबाड नगर,' उनले भनेका छन्।

प्रकाशित: १५ भाद्र २०८३ ०९:१३ सोमबार