राजनीति

संसद्‌मा बालेनले भनेका थिए- सुकुम्बासीलाई डुबानबाट जोगाउन ‘होल्डिङ सेन्टर’ मा सार्‍याैं

एक महिनाअघि मात्रै प्रधानमन्त्री बालेन शाहले संसद्‌मा उभिएर नदी किनारका सुकुम्बासीलाई डुबानबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बताएका थिए। तर, सरकारले ‘सुरक्षित’ भनेर राखेको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः डुबानको चपेटामा परेका छन्।

प्रधानमन्त्री शाहले संसद्‌को रोस्ट्रमबाट नदी किनारका बस्ती अत्यन्त जोखिमपूर्ण रहेको भन्दै उनीहरूलाई विपद्‌बाट बचाउनकै लागि कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टरमा सारिएको बताएका थिए। सुकुम्बासी बस्तीमा डोजर चलाउनु उनले उद्धार भनेका थिए। तर, अहिले त्यही आश्रयस्थल उनीहरु फेरि उद्धार गर्नुपर्ने अवस्था आएको छ।

अविरल वर्षासँगै गएराति करिब १२:४० बजेपछि बागमती नदीको बहाव बढेर उक्त होल्डिङ सेन्टरमा बाढी पसेको थियो। बाढीबाट जोगिन सरकारी शरणमा पुगेका सुकुम्बासीहरू राति सुतिरहेकै अवस्थामा पानी पसेपछि ज्यान जोगाउन भागाभाग गर्न बाध्य भए।

उनीहरूले बाढीबाट केही पनि सामान निकाल्न समेत पाएनन्, उनीहरुका सम्पूर्ण लत्ताकपडा, खाद्यान्न र घरायसी सामग्री भिजेर नष्ट भए। बाढी पसेर हाहाकार मच्चिएपछि मध्यराति १:३८ बजे मात्रै सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ६० जनाको संयुक्त टोलीले रबरबोटको प्रयोग गरी त्यहाँ रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ। अन्य विस्थापितहरू कोही आफन्तकहाँ त कोही पानी नपसेको सेन्टरकै कुनामा रात काट्न विवश भए।

डुबानबाट जोगाउने बहानामा उल्टै बाढीकै मुखमा लगेर फसाएको भन्दै पीडितहरूले प्रधानमन्त्री र सरकारप्रति तीव्र आक्रोश पोखेका छन्।

‘बालेनले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो, तर उहाँले नै हामीलाई बाढीमै पुर्‍याउनुभयो’, भिजेका सामान पन्छाउँदै एक सुकुम्बासीले भने, ‘हामीलाई पनि बाँच्ने अधिकार छ, हामी कुकुर-बिरालो होइनौं। अलिकति पानी पर्दा पनि जलमग्न हुने ठाउँ हो भन्ने थाहा पाउँदापाउँदै पनि सरकारले हामीलाई यहाँ ल्याएर राख्यो।’

सरकारले पन्ध्र दिनभित्र स्थायी व्यवस्थापन गर्ने भनेर उनीहरुलाई आश्रयस्थल ल्याएको थियो।

प्रकाशित: २७ असार २०८३ १२:३७ शनिबार