सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाका विषयमा संसद्मा उपस्थित भई धारणा राख्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्तामा सभामुख अर्यालले समसामयिक विषयमा सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक हुँदा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा सम्बोधन गर्न सुझाव दिएको र प्रधानमन्त्रीले त्यसबारे विचार गर्ने जवाफ दिएको जानकारी दिए।
आइतबार राति सुनसरीको कप्तानगञ्जमा भएको घटनामा एक जनाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ। घटनापछि विभिन्न राजनीतिक दलले संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै सार्वजनिक धारणा व्यक्त गरेका छन्।
यसैक्रममा सभामुख अर्यालले मंगलबार प्रमुख राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनले संसदीय सहकार्य, समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधि सभाको प्रभावकारी सञ्चालनबारे छलफल गरेका थिए।
त्यसैगरी, प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित बनाउने तथा संसद्को कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १७:२२ बुधबार