राजनीति

मधेश प्रदेशमा आज सभामुखको निर्वाचन : चुनावी मैदानमा यादव र प्रसाद

मधेश प्रदेशमा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ। तत्कालीन सभामुख रामचन्द्र मण्डलले पद अनुकूलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट उनलाई हटाएपछि नयाँ सभामुख छनोटका लागि निर्वाचन गर्न लागेको हो।

सभामुखका लागि शनिवार दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। सातदलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। जसपाका उम्मेदवार यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका फकिरा महतो रहेका छन्।

त्यस्तै एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावक एमालेकै सांसद शारदा देवी थापा र समर्थक जयचन्द्र प्रसाद पटेल रहेका छन्। सातदलीय गठबन्धनमा ७७ र एमालेको गठबन्धनमा २७ जना सांसद रहेका छन्। 

सातदलीय गठबन्धनमा रहेका लोसपाका अभिराम शर्मा र जसपाका सरोज सिंह कुशवाहा निलम्बनमा परेका छन्। एमालेका सांसद दिपेन्द्र ठाकुर पनि निलम्बित रहेका छन्।

प्रकाशित: ६ पुस २०८२ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App