राजनीति

सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स-नेपाल संसदीय समूहका अध्यक्ष बियाट्रिस पिरोनसँगको शिष्टाचार भेटमा उनले उक्त आग्रह गरेका हुन्।

सभामुख अर्यालको सचिवालयका अनुसार भेटमा अर्यालले नेपालको सङ्घीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु गरिएको जानकारी दिँदै सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताए।

साथै, दुई देशबीचको संसदीय सम्बन्ध सुदृढ गर्न आठ सदस्यीय नेपाल-फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी उनले दिए।

नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै सभामुख अर्यालले फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने बताए।

बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली सङ्घमार्फत प्रदान गरिएको पाँच टन मानवीय सहायताप्रति उनले आभार व्यक्त गरे।

भेटमा अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १ मंसिर २०८३ २१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App