राजनीति

संविधानको मूल मर्म र भावनालाई व्यवहारमा उतार्न सभामुख अर्यालको आह्वान

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई समर्पित भएर अघि बढ्न आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले यस्तो आह्वान गरेका हुन्। उनले नेपाली जनताको अनवरत संघर्ष, त्याग र बलिदानबाट २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन तथा पछिल्लो समय भएको जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

सभामुख अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिप्रति आस्थावान रही राष्ट्रिय एकताको सूत्रमा आबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले संविधानको सफल कार्यान्वयन र संरक्षणमा संघीय संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समयसापेक्ष कानुन निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्य–मान्यताको जगेर्नाका लागि संघीय संसद् प्रतिबद्ध रहेको बताए।

संविधानले परिकल्पना गरेको स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणका लागि राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली नागरिकबीच सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।

सभामुख अर्यालले संविधानको प्रभावकारिताका लागि सबैले मन, वचन र कर्मले समर्पित भई हातेमालो गर्न आह्वान गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ आश्विन २०८३ ०९:०९ शनिबार