संघीय संसद्को हिउँदे अर्थात् विधेयक अधिवेशन कहिले बोलाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन। सरकारले यही मंसिर २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलक्षित अध्यादेश ल्याएर मात्र अधिवेशन बोलाउने तयारी गरेको छ।
सरकारले जारी गर्न सिफारिस गरेका तीन अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छन्। यसैबेला सभामुख डोलप्रसाद अर्याल पनि मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अवैध तरिकाले रकम उठाएर मलेसिया पठाएको प्रकरणमा तत्कालीन श्रम, रोजगार र सामाजिक सुरक्षामन्त्रीको हैसियतमा जोडिएका छन्। यी दुई कारणले मंसिरमा अधिवेशन बस्ने सम्भावना भने कमजोर बन्दै गएको छ।
मलेसिया जाने कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा पैसा असुलेर मलेसिया पठाएको आरोपमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालीन श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याललाई बिहीबार नियन्त्रणमा लिएको छ।
एकनारायण सचिव हुँदा शेरबहादुर कुँवर, डोलप्रसाद र शरत्सिंह भण्डारी मन्त्री भएका थिए। एकनारायण पछि मुख्यसचिव भएर सेवाबाट अवकाश भएका हुन्।
गत कात्तिक १२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख अर्यालबिच मंसिर १८ आसपास संसद्को हिँउदे अधिवेशन बोलाउने गरी छलफल भएको थियो। त्यसपछि सभामुखले नेताहरूसँगको भेटमा मंसिर अन्तिम साता अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएका थिए।
सरकारी अधिकारीहरूका अनुसार राष्ट्रपति कार्यालयमा तीनवटा अध्यादेश
अड्किएको अवस्थामा सरकार मंसिर २३–२४ मा हुने पूर्वाधार सम्मेलनअगावै कानुनी बाधा फुकाउन लगानी प्रवर्धन, पूर्वाधार निर्माण र जग्गा प्राप्तिसँग सम्बन्धित ५९ वटा प्रचलित ऐन (केही स्रोतका अनुसार ६४ वटा ऐन) का करिब ४९४ दफा संशोधन गर्न थप अध्यादेश ल्याउने तयारीमा छ। संवैधानिक व्यवस्थाअनुसार संसद् अधिवेशन आह्वान भएपछि अध्यादेश ल्याउन मिल्दैन।
यसैकारण सरकारले सिफारिस गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी नहुँदासम्म अधिवेशन बोलाउने अवस्था देखिँदैन। राष्ट्रपति कार्यालयमा विचाराधीन तीन अध्यादेश र नयाँ अध्यादेश सिफारिस र जारी एक साताभित्र भएमा मात्र मंसिर अन्तिम साता अधिवेशन बोलाउन सक्ने संसद् सचिवालयका अधिकारी बताउँछन्।
गत असोज १६ गते बर्खे अर्थात् बजेट अधिवेशन अन्त्य भएपछि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठ अध्यादेशमध्ये पाँचवटा जारी भइसकेका छन्। जारी हुन बाँकी अध्यादेशमा कात्तिक १७ मा सिफारिस प्रेस काउन्सिल ऐन संशोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्यनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश तथा मंसिर ४ मा सिफारिस जेन–जी आन्दोलनका घटनासम्बन्धी छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश छन्।
मलेसिया जाने कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अवैध रुपमा पैसा असुलेर मलेसिया पठाई ठगी गरेको आरोपमा पूर्वमुख्यसचिवबाट अवकाश भएका एकनारायण अर्याल पक्राउ परेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। यो प्रकरणमा यसअघि तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रमसचिव विनोद केसीसहित १० जनालाई सिआइबीले नियन्त्रणमा लिएको छ।
डोलप्रसाद अर्याल श्रममन्त्री भएका बेला पनि मलेसियामा रकम पठाइएको विवरण सार्वजनिक भएसँगै उनीमाथि पनि छानबिन गर्नुपर्ने आवाज उठेको छ।
विभिन्न समाचार माध्यम र सिआइबीको अनुसन्धानलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार डोलप्रसाद दोस्रो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री (२०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म) भएका बेला २०८० चैत २५ गते श्रम मन्त्रालयबाट नेपाल राष्ट्र बैंकलाई दुईवटा पत्र पठाइएको थियो। ती पत्रमा बायो मेडिकल सिस्टम (बिएमएस) सेवा शुल्कबापत दुई किस्तामा २१ लाख ३१ हजार ७४० मलेसियन रिंगिट (तत्कालीन विनिमय दरअनुसार करिब ७ करोड २९ लाख रुपैयाँ) मलेसिया पठाउन विदेशी मुद्रा सटही सुविधा माग गरिएको विवरण बाहिरिएको छ। सिआइबी स्रोतले डोलप्रसाद अर्याल र अर्का तत्कालीनमन्त्री शरत्सिंह भण्डारीलाई भने अनुसन्धानको दायरामा नराखिएको बताएको छ।
संसद् अधिवेशन छिटो बोलाउँदा अध्यादेश ल्याउने बाटो रोकिने र शीतलनिवासमा रोकिएका अध्यादेश स्वतः निष्प्रभावी (औचित्यहीन) हुन पुग्छन्। रास्वपाले अधिवेशनमार्फत न्यायालय शुद्धीकरण र महाभियोगसम्बन्धी अजेन्डा अघि बढाउने तयारी गरिरहेको छ।
मलेसिया प्रकरणमा प्रतिपक्षले उठाउन सक्ने सम्भावित प्रश्नबिच अधिवेशन सुरु हुँदा सदनको वातावरण सहज नहुन सक्छ। रास्वपा प्रवक्ता जगदीश खरेलले अधिवेशन ढिलो बोलाउनुपर्ने कारण नरहेको र बोलाउने काम सरकारको भएको बताएका छन्।
विपक्षी दलले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको, सरकारी निकाय र अदालतमा बिचौलियाको प्रभाव र न्यायिक विवाद निरुपण, प्रशासनिक क्षेत्रमा देखिएको अन्योल, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र जनसरोकारका विषयमा छलफल तथा छानबिन गर्न तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन्। संविधानको धारा ९३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्छन्।
यसैबिच प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि सभापतिबिच बिहीबार भेटवार्ता भएको छ । उनीहरूबिच संसद् अधिवेशन आह्वान, प्रधानमन्त्रीको भारत भ्रमणसहित समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।
प्रकाशित: ११ मंसिर २०८३ ०७:३९ शुक्रबार



