प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए। प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइई मा नतिजा १३ प्रतिशतले सुधार आएको बताए।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।
प्रकाशित: २९ असार २०८२ १२:३७ आइतबार