राजनीति

निर्वाचनका लागि केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छिमेकी मुलुकहरूले आर्थिक सहयोग गर्ने वचन दिएको बताएकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उनले यस्तो बताएकी हुन्। उनले केही छिमेकी मुलुकहरूले सवारीसाधन उपलब्ध गराउने र केहीले आर्थिक सहयोग गर्ने बताइन्।

उनले भनिन्, 'छिमेकी मुलुकहरूले पनि सवारीसाधन उपलब्ध गराउँदै छन्। केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्।'

निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराइन्।  

प्रधानमन्त्री कार्कीले भनिन्, 'प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ।'

प्रकाशित: १७ कार्तिक २०८२ ०९:०४ सोमबार