राजनीति

सामाजिक सञ्जाल बन्द हुँदैन, व्यवस्थित र जिम्मेवार बनाइन्छ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघसंस्थाहरूसँगको छलफलमा उनले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई व्यवस्थित र जिम्मेवार बनाउने सरकारको नीति रहेको बताए।

उनले सामाजिक सञ्जाललाई अहिलेको ‘नयाँ मूलधारको सञ्चारमाध्यम’ को संज्ञा दिँदै सरकारले यसलाई बन्द गर्ने सोच नराखेको प्रस्ट्याए। ‘सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधार हो, यसलाई सरकारले चिनेको छ र सदैव प्राथमिकतामा राख्छ,’ मन्त्री खरेलले भने।

उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सहयोग गर्न सरोकारवाला निकायहरूलाई आग्रह गरे।

छलफलका क्रममा मन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमहरूको दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन लागिएको जानकारी दिए।

उनले अब सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण गर्ने व्यवस्थासहितको नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको र छिट्टै पारित हुने बताए।

‘केही दिनभित्रै राजपत्रमा सूचना प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०८२ १६:३५ बुधबार