राजनीति

‘राष्ट्रियसभामा रास्वपा नहुँदा कानुन बनाउन असहज भयो’

फाइल तस्बिर।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा आफ्नो दल रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माण प्रक्रियामा जटिलता र असहजता उत्पन्न भएको बताएकी छन्। 

प्रतिनिधिसभामा उपस्थिति भए पनि अन्यत्रबाट अपेक्षित सहयोग नजुट्दा कानुनी सुधारमा बाधा पुगेको उनको भनाइ छ।

जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरस्थित तत्कालीन संसद् भवन परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले संसद्को संरचनागत बाध्यतातर्फ संकेत गरेकी हुन्।

‘प्रतिनिधिसभामा निर्वाचित व्यक्ति हुनुहुन्छ। अरू ठाउँमा को हुनुहुन्छ ? कसले सहयोग गरेको छ, कसले गरेको छैन, त्यो तपाईंहरूले मूल्यांकन गर्नुभएकै होला,’ उनले भनिन्।

आन्दोलनकारी पंक्तिभित्रै विभाजन आए विरोधी शक्तिहरू हाबी हुने चेतावनी दिँदै उनले आपसी एकता जोगाउन आग्रह गरिन्। एकआपसमा लडे परिवर्तनविरोधीहरूले खेल्ने ठाउँ पाउने उनको भनाइ थियो।

मन्त्री गौतमले जेन-जी आन्दोलनका क्रममा भएका २०८२ भदौ २३ र २४ गतेका घटनालाई एउटै आँखाले हेर्न नहुने जिकिरसमेत गरिन्। ‘२३ गतेको जस्तो नियति कसैले भोग्न नपरोस्। जुन पीडा तपाईंहरूलाई भएको छ, त्यो हामीलाई पनि भएको छ। हामी पनि चैनले निदाउन पाएका छैनौं,’ उनले भनिन्।

वर्तमान सरकार सफा नियतका साथ अघि बढेको दाबी गर्दै उनले सहिद तथा घाइतेका सपना पूरा गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाइन्।

‘नियत सफा भयो भने देश बन्न धेरै समय लाग्दैन। सरकार तपाईंहरूका सपना पूरा गर्न पूर्ण प्रतिबद्ध छ,’ मन्त्री गौतमले भनिन्, ‘हामी सबै कुरा व्यवस्थित र ठिक तरिकाले अघि बढाउँदैछौं, सरकारमाथि विश्वास राख्नुहोस्।’

प्रकाशित: २३ भाद्र २०८३ १५:१३ मंगलबार