संसद्मा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मात्र होइन, साना दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि आन्तरिक विवादमा रुमलिएका छन्। दलहरू आन्तरिक विवादमा फस्दा मुलुकमा राजनीतिक अस्थिरता बढ्ने सम्भावना प्रबल हुन्छ।
नेकपा एसमा हालै भित्रिएका वामदेव गौतमले संगठन विभाग मागेपछि विवाद सिर्जना भएको छ। नेकपा एसभित्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने कि नगर्ने भन्ने विवाद पनि कायमै छ।
राप्रपाभित्र पनि आन्तरिक विवाद बढ्दै गएको छ। विवादका कारण अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिवले पार्टीका कार्यकर्तामाथि नै अभद्र व्यवहार गरेका छन्। राप्रपाभित्रको विवाद बढेपछि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले राजीनामा दिएका छन्। मुलुकमा राजसंस्था फर्काउने आन्दोलनमा लागेको राप्रपाभित्र आन्तरिक कलह चर्कंदै जाँदा कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन्।
नाउपाभित्र पनि रेशम चौधरी र उनकी पत्नी रन्जिता श्रेष्ठबिचको मनमुटावले पार्टीमा विग्रह निम्त्याउने देखिएको छ। चौधरी समूहले श्रेष्ठलाई पार्टी अध्यक्षबाट निष्कासन गरेको जनाएको छ। चौधरी समूहको निर्णय अवैध भएको दाबी कारबाहीमा परेकी श्रेष्ठले गरेकी छन्।
नेकपा एसमा गौतमको गुनासो
नेकपा एसमा प्रवेश गरेको दुई सातामै वामदेव गौतमले १४ संगठन विभाग प्रमुखको जिम्मेवारी मागेका छन्। अहिले संगठन विभाग प्रमुख पार्टी उपाध्यक्ष वेदुराम भुसाल छन्। गौतमले संगठन विभाग प्रमुख मागेपछि उनीमाथि पार्टी कब्जा गर्न खोजेको आरोप छ। गौतमले आफूलाई काम गर्ने हुटहुटी चलेका कारण संगठन विभागको प्रमुख मागेको बताएका छन्।
‘वामदेव गौतमलाई संगठन विभागको प्रमुख दिनेनदिने विषयमा निर्णय गर्न सचिवालय बैठक बसेको छैन। अहिले यो विषयमा छलफल भएको पनि छैन। गौतमले अध्यक्षज्यूसँग व्यक्तिगत रूपमा कुराकानी गर्नुभएको होला। यस विषयमा औपचारिक रूपमा छलफल भएपछि मात्रै निधो हुन्छ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले भने।
नेकपा एसका नेताहरू गौतमलाई संगठन विभागको जिम्मेवारी दिने पक्षमा छैनन्। ‘गौतमलाई संगठन विभाग दिने भनेर पार्टीमा ल्याइएको होइन। उनी निसर्त पार्टीमा प्रवेश गरेका हुन्। अध्यक्षको तजबीजमा जिम्मेवारी निर्धारण हुन्छ,’, नेकपा एसका एक पदाधिकारीले भने।
गौतम साउन २ गते आफ्ना केही सहकर्मीसहित नेकपा एसमा प्रवेश गरेका थिए। नेकपा एमालेमा प्रवेश गर्न निकै कोसिस गरेका गौतम सम्भव नभएपछि नेकपा एसमा पुगेका थिए। नेकपा एस एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको हो। गौतम पनि पूर्वएमाले हुन्। उनी पनि एमालेबाट अलग भएर बसेका थिए।
नेकपा एसमा प्रवेशका अवसरमा गौतमले अब पार्टी समाजवादतर्फ उन्मुख हुने, हुनुपर्ने बताएका थिए। ‘२०७५ सालमा हामीले पार्टी एकता गरेर नेकपा निर्माण ग¥यौं। त्यतिबेला म निकै खुसी भएँ। तर त्यो खुसी धेरै टिक्न पाएन। अब हामी समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्छ। समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्णरूपमा सफल भएको ठान्नेछु,’ उनले भनेका थिए।
उनले त्यसदिन आफू एक्लै नेकपा एसमा नआएको बताएका थिए। ‘म एक्लै आएको छैन आज। एक्लै आउँदा कहिल्यै पनि सफल भइँदैन। म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु। एउटा प्रदेश कमिटीको पनि समर्थन बोकेर आएको छु। उपत्यकामा पनि एउटा कमिटी छ, त्यसका पनि नौवटा जिल्ला कमिटी छन्। यी सबैको समर्थन बोकेर आएको छु,’ उनले भनेका थिए। तर एक्लै प्रवेश गरेको ठानेर नेकपा एसले आफूलाई संगठन विभाग प्रमुख नदिएको गुनासो गौतमले गर्न थालेका छन्।
राप्रपा कलहले कार्की बाहिरिए
राप्रपामा विवाद बढ्दै गएपछि निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका हुन्। उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गुटबन्दी, भागबन्डा र हैकमवादी शैलीबाट निराश भएर पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। पार्टी अध्यक्ष लिङदेनका स्वकीय सचिव छत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेको दोस्रो दिन कार्कीले पार्टी छाडेका हुन्।
गत निर्वाचनमा प्रदेशसभातर्फ पाल्पा क्षेत्र नम्बर–२ (ख) बाट राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्ष लिङदेनविरुद्ध लेखेको भन्दै उनलाई कडायतले हेल्मेटले हिर्काएका थिए। काठमाडौंको विशालनगरमा चियागफ गरिरहेका गैरेलाई कडायतले हेल्मेटले प्रहार गरेका थिए। यही विषय कोट्याउँदै केन्द्रीय सदस्य कार्कीले पार्टी अध्यक्षले फरक मत राख्ने कार्यकर्तालाई पाखा लगाएर चाप्लुसी गर्नेलाई संरक्षण दिएको आरोप लगाएका छन्। उनले वर्तमान नेतृत्वले पार्टीलाई विधिविहीन ढंगले सञ्चालन गरेको दाबी गरेका छन्।
पार्टीमा नेतृत्वले विचारभन्दा पद, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिएको, पुराना कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई जिम्मेवारी दिएको उनको आरोप छ। राप्रपाको साधारण सदस्यतासमेत त्यागेका कार्कीले अब कुनै दल वा गुटमा नरही स्वतन्त्र रूपमा राष्ट्र र जनताको सेवामा रहने बताएका छन्। मधेस प्रदेशका पूर्वसंयोजक, पार्टी प्रवक्ता र अनुशासन समितिका सदस्य सचिव रहेका कार्कीको बहिर्गमनले राप्रपाभित्रको आन्तरिक कलह चर्केको बुझिन्छ।
नाउपा विभाजन उन्मुख
आन्तरिक विवाद बढ्दै जाँदा नाउपा विभाजन उन्मुख देखिएको देखिएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठसँग असन्तुष्ट पक्षले बिहीबार राष्ट्रिय भेला आयोजना गर्यो। भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टी संरक्षक रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ। यसबाट नाउपा फुट्ने सम्भावना बढेको छ। भेलापछि आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष लालवीरले पार्टीलाई विधि र पद्धतिमा चलाउन भेला गरिएको बताए। ‘पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौं,’ उनले भने, ‘डेढ वर्षदेखि बैठक नडाक्दा पार्टी अनिर्णयको बन्दी बनेको थियो। रूपन्देहीमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो।’
नाउपाका अर्का एक नेताले बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन आग्रह गर्दा श्रेष्ठले बेवास्ता गरेको आरोप लगाए। ‘हामीले २४ घण्टे समय दिएर बैठक बोलाउन आग्रह गर्यौं तर उहाँले कुनै जानकारी नगराएपछि बहुमत केन्द्रीय सदस्य, सांसद र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा यो भेला आयोजना गरिएको हो,’ ती नेताले।
पार्टी संरक्षक रेशम पक्षधरले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको घोषणा गरेपछि उनले संसदीय दलका नेतासमेत रहेका सांसद गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन्। श्रेष्ठले पार्टी हितविपरीत तथा विधान र राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने भन्दै गंगारामलाई २४ घण्टे स्पष्टीकरण सोधेकी हुन्। श्रेष्ठले अस्वस्थताका कारण पार्टीका गतिविधिमा पूर्णरूपमा सक्रिय हुन नसकेको अवस्थामा केन्द्रीय समितिको बैठक बोलाएको भन्दै संसदीय दलका नेता गंगारामलाई स्पष्टीकरण सोधेकी हुन्।
प्रकाशित: १६ श्रावण २०८२ ०६:३२ शुक्रबार