राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग

नेपाली कांग्रेसले सुजाता कोइरालासहित ६ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले कोइरालासहित ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याललाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको हो।

कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने धारणा राखेको छ। साथै, उखु किसानले पाउन बाँकी रहेको रकम अविलम्ब भुक्तानी गराउन पनि बैठकले माग गरेको छ।

बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रकाशित: ९ मंसिर २०८३ १८:५४ बुधबार