पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको मृत्यु भएको दुई वर्ष पुग्यो। २०८० असार २७ गते सीताको निधन भएको थियो। लामो समय पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको हृदयघात भएपछि नर्भिक अस्पतालमा निधन भएको थियो, जुन दुई वर्ष पुगेको छ।
यो अवसरमा दाहालले सीतालाई सम्झिएका छन्। उनले सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरेको र आफूलाई पनि साथ दिएको बताएका छन्। ‘उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहनेछ,’ उनले भनेका छन्। उनले सीताको दोस्रो स्मृतिमा परिवार र पार्टीलाई सद्भाव व्यक्त गर्ने सबैका प्रति पनि आभार व्यक्त गरेका छन्।
उनले थप भनेका छन्, ‘मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार कमरेड सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।’
जतिबेला सीता बितिन्, त्यतिबेला दाहाल प्रधानमन्त्रीका रूपमा छैटौँ महिनामा थिए। सीता, दाहाल तेस्रोपटक प्रधानमन्त्री बनेको थाहै नपाइकन बितेकी थिइन्। दशवर्षे सशस्त्र माओवादी जनयुद्धमा दाहाललाई हमेश साथ दिएकी सीता स्वास्थ्य कमजोर बनेयता राजनीतिक रूपमा निष्क्रिय थिइन्। तर, पनि पार्टीले सम्मान गर्दै सल्लाहकार परिषद्को सदस्यमा राखेको थियो।
प्रकाशित: २७ असार २०८२ १७:१४ शुक्रबार