संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो–एनएनएसडब्ल्यू) सम्झौता भएको छ।
भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो।
यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ / ८८०२) को आयात–निर्यातका लागि आवश्यक पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ।
यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेब सर्भिस उपलब्ध गराई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदानप्रदान तथा प्रणाली एकीकरण गर्नेछ।
साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, तथ्याङ्क सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउनेछ।
त्यसैगरी, भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणालीमार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमतिसम्बन्धी विवरणका आधारमा आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउनेछ।
प्रणालीको प्रभावकारी सञ्चालनका लागि दुवै निकायबीच आवश्यक प्राविधिक समन्वय र सूचना आदानप्रदानको व्यवस्था गरिनेछ।
यस व्यवस्थाले वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ न्यूनीकरण गर्नुका साथै सरकारी सेवा प्रवाहमा पारदर्शिता र अन्तरनिकाय डिजिटल समन्वय अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
विशेषगरी हवाई सेवा सञ्चालक, विमान मर्मतसम्भार तथा उड्डयन क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आवश्यक सामग्री आयात गर्न सहज हुने र समग्र हवाई यातायात क्षेत्रको सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सरकारी निकायका सेवा प्रक्रियालाई डिजिटल प्रविधिमा आबद्ध गर्दै सार्वजनिक सेवा प्रवाहलाई सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरूप यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।
प्रकाशित: १८ कार्तिक २०८३ १७:२४ बुधबार