उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। शनिबार नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
सिंहले युवा विद्यार्थीलाई यथार्थ नबुझी यस्ता हल्लाको लहैलहैमा नलाग्न आग्रह गरे। ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ,’ उनले भने, ‘जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुने बताए। उनले भने, ‘अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।’ उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको दाबी पनि गरे । आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमै बसेर अन्तर्राष्ट्रियकरण शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताए।
‘देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने। रासस
प्रकाशित: २८ असार २०८२ १४:३८ शनिबार