राजनीति

हस्ताक्षर अभियान लोकतन्त्रमाथिकै प्रहारः एमाले नेता भट्टराई

नेकपा एमालेका नेता राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका छन्। उनले लोकतन्त्रमाथिको चुनौती कहिलेकाहीँ लोकतन्त्रका पक्षपातीबाटै आउने गरेको बताउँदै सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहार भएको बताएका हुन्।  

‘लोकतन्त्रमाथिको चुनौती सधैँ विरोधीबाट मात्र आउँदैन; कहिलेकाहीँ लोकतन्त्रका पक्षपाती हुं भन्नेहरूको व्यवहारले पनि त्यसमा हानी पुर्याउने  गर्छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहारको रूपमा बुझ्न सकिन्छ।’

लोकतान्त्रिक प्रणालीमा राज्यका तीन अङ्ग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समान रूपले महत्त्वपूर्ण  हुने बताउँदै  तीबिचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार रहेको उनी बताउँछन् । ‘यसको अर्थ एउटाले अर्कोको अधिकार क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुँदैन भन्ने हो। सर्वोच्च अदालतको निर्णय र व्याख्या नै अन्तिम मानिन्छ र सबैका लागि मान्य हुनुपर्छ ,’ उनले लेखेका छन्, ‘तर, पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले यिनै आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।’

प्रकाशित: ३२ असार २०८२ ०९:१३ बुधबार

#NagarikNews #Rajan Bhattarai ##NepaliNews