राजनीति

संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद शेर्पालाई काठमाडौंमा सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सांसद मिङ्गा ग्याबु शेर्पालाई मंगलबार काठमाडांमा सम्मान गरिएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्तरुपमा शेर्पालाई सम्मान तथा बधाई दिएका हुन्।  

संघीय संसद् सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी र राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको पनि उपस्थिति थियो।  

शेर्पाले गत जेठ १३ गते बिहान ५ः४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए। उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन्।  

उक्त उपलब्धिसँगै शेर्पाले आफ्नो दशौँ सफल सगरमाथा आरोहणको कीर्तिमानसमेत कायम गरेका छन्। संसद्को प्रतिनिधित्व गर्दै विश्वको सर्वोच्च शिखरमा राष्ट्रिय तथा संसदीय गौरव झल्काउने कार्य गरेको भन्दै कार्यक्रममा उनको योगदानको उच्च प्रशंसा गरिएको थियो।

कार्यक्रममा उपस्थित पदाधिकारीहरूले सांसद शेर्पाको साहस, समर्पण र उपलब्धिले देश तथा संसद्को प्रतिष्ठा थप उँचो बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यले नयाँ पुस्तालाई उत्साहित गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: १९ जेष्ठ २०८३ १५:३५ मंगलबार