नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको ‘सभापति’ कै हैसियतमा काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा प्रस्तुत भएका छन्।
५ महिने लामो उपचारपछि स्वदेश फर्किएका देउवा आइतबार ‘सभापति’ लेखिएको कार्यकक्ष र नेमप्लेटसहितको कुर्सीमा बसेर औपचारिक कार्यक्रममा सहभागी भएका हुन्।
सिंगापुर र हङकङमा उपचार गराएर साउन २८ गते स्वदेश फर्किएका देउवा दोस्रो पटक चुनदेवी पुगेका हुन्। स्वदेश फर्किएकै दिन सिधै त्यहाँ पुगेका उनी आइतबार पार्टीनिकट आदिवासी जनजाति महासंघ (संघ) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन चुनदेवी पुगेका थिए।
१५ औं महाधिवेशनको तयारीका लागि आफू पक्षीय समूहले स्थापना गरेको उक्त कार्यालयमा देउवाका लागि बेग्लै कार्यकक्ष तयार गरिएको छ।
कार्यकक्षको ढोकाबाहिर ‘सभापति शेरबहादुर देउवा’ लेखिनुका साथै उनी बस्ने मुख्य टेबुलमा पनि ‘सभापति शेरबहादुर देउवा’ कै नेमप्लेट सजाइएको छ।
उक्त नेमप्लेट अरू नेतालाई जानकारी नदिई आफूले राखेको पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले साउन २९ को राष्ट्रिय भेलामा बताएका थिए।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनमा देउवा सहभागी भएका थिएनन्। उक्त महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई सर्वोच्च अदालतको डिभिजन बेञ्चले समेत सदर गरेको थियो।
उक्त फैसलाविरुद्ध देउवा पुनरवलोकनमा गएपछि सर्वोच्च अदालतले यसअघि नै पुनरवलोकनको अनुमति दिइसकेको छ।
प्रकाशित: ७ भाद्र २०८३ १५:४९ आइतबार



