नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ। बुधबार महाराजगञ्जको एक स्थानमा दुई नेताबिच झन्डै एक घण्टा भेटवार्ता भएको निकटस्रोतले बतायो।
दुई नेताबिच जेन–जी आन्दोलनपछि विकसित घटनाक्रम र नेतृत्व परिवर्तनबारे छलफल भएको बुझिएको छ। ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व(शेरबहादुर देउवा) फेरेरै जानुपर्छ भन्नेमा दुई नेता एकमत हुनुहुन्छ,’ निकट स्रोतले भन्यो,‘त्यसैले पार्टीमा दुवैले मिलेर यो अजेन्डा उठाउनुपर्छ भन्ने दृष्टिकोणबाट आजको भेट भएको हो।’
जेन–जी आन्दोलनपछि पार्टी सभापति देउवाले नेतृत्व छाड्नुपर्ने भन्दै महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले जोडतोडका साथ कुरा उठाइरहेका छन्। नेता कोइराला भने पार्टी विधानको चार वर्षे कार्यकालको वैधानिक व्यवस्थाअनुसार मंसिरमै १५ औं महाधिवेशन हुनुपर्ने कुरा उठाइरहेका छन्। तर, सामान्य प्रक्रियाबाट जाँदा त्यो कुरा असम्भव जस्तै छ।
जेन–जी आन्दोलनअघि सभापति देउवाले विधानमै भएको थप एक वर्ष थप्न मिल्ने व्यवस्थाअनुसार अघि बढ्ने मनशाय बनाएका थिए। जसमा महामन्त्रीद्वय थापा र शर्माको पनि अघोषित समर्थन रहेको बताइन्छ।
तर, परिवर्तित अवस्थामा दुवै जना अब हरहालमा सभापति देउवाले पद छाड्नुपर्ने भन्दै वकालत गरिरहेका छन्। उता संस्थापन पक्षका नेताहरू भने जेन–जी आन्दोलनकै क्रममा सांघातिक हमलामा परेका सभापति देउवा अस्पतालको बेडमा रहेका बेला यस्तो कुरा उठाउनु मानवीय संवेदनाविपरीतको काम भन्दै आलोचना गरिरहेका छन्।
यस्तोमा महामन्त्री थापाले कोइरालाको पनि साथ खोजेका छन्। यद्यपि दुवै जनाबिच राम्रो सम्बन्ध थिएन। यसअघि १४ औं महाधिवेशनमा दुवै जना कोइराला नेतृत्वको समूहको प्यानलमा लडेका थिए। कोइराला देउवासँग पराजित हुँदा थापा महामन्त्रीमा उल्लेख्य मतसहित जितेका थिए।
पछि दुवै बिच तालमेल मिलिरहेको थिएन। यही कारण दुई नेता बिचको भेटघाट पनि निकै पातलो थियो। अहिलेको भेटवार्ता पनि जेठ १६ गते पछिको पहिलो भनिएको छ। त्याे भेट पनि ११ महिनापछि भएकाे थियाे।
प्रकाशित: ८ आश्विन २०८२ १९:२७ बुधबार