आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ।
क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन्।
भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न गरेको देउवासामु बताए।
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे। कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे।
अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे। २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो।
प्रकाशित: १ पुस २०८२ १३:३८ मंगलबार