नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी औपचारिक रूपमै विभाजन हुने उच्च जोखिम रहेको बताएका छन्।
उनले आफ्नो अन्तिम लक्ष्य र बटमलाइन भनेकै पार्टीलाई एकढिक्का राख्नु रहेको सुनाए। दुई समूहले अलग-अलग महाधिवेशन गर्दा पार्टी फुटको डिलमा पुग्ने स्वीकार गर्दै उनले विभाजन भए कांग्रेसको अस्तित्व नै समाप्त हुने भय व्यक्त गरे।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले पछिल्लो आन्तरिक विवाद र समानान्तर गतिविधिका विषयमा यस्तो धारणा राखेका हुन्।
पार्टीभित्र विशेष महाधिवेशनबाट आएको गगन थापा पक्ष र आफू संयोजक रहेको १५औं महाधिवेशन तयारी समितिबीच समानान्तर गतिविधि चलिरहेको सन्दर्भमा कोइरालाले यो विभाजनका लागि नभएको दाबी गरे।
‘राजनीतिमा दबाबको रणनीति हुन्छ। तिमीहरू महाधिवेशन गर्छौं भने हामी पनि गर्छौं भन्नु एक किसिमको दबाब हो,’ उनले भने, ‘अन्तिम समयमा पनि नेतृत्वमा बुद्धि पलाओस् भनेर यो प्रेसर दिएका हौं। पार्टी फुटाउने त म कल्पना पनि गर्न सक्दिनँ। मेरो हरदम, हमेशा प्रयास पार्टीलाई एक बनाउन नै रहनेछ।’
एकातिर गगन थापा पक्षले महाधिवेशन सुरु गरिसक्ने र अर्कोतिर आफूहरूले पनि महाधिवेशन गरेपछि पार्टी कसरी जोगिन्छ भन्ने प्रश्नमा कोइरालाले चिन्ता व्यक्त गरे।
‘दुईवटा महाधिवेशन भएपछि त्यो सहमतिको विन्दु कट्छ र हामी अगाडि बढ्छौं, त्यो अत्यन्तै खतरनाक अवस्थाको संकेत हो,’ उनले भने, ‘त्यसैले दुवै पक्षले महाधिवेशन गर्नुभन्दा अगाडि नै सहमति गरेर एक हुनुपर्छ भन्ने मेरो अडान हो।’
दुईवटा अलग पार्टी बनेर चुनावमा जाँदा के परिणाम आउला भन्ने प्रश्नमा डा. कोइरालाले भने, ‘सत्य बोल्दा, दुईवटा पार्टी भएर स्थानीय चुनावमा गयौं भने हामीले जित्ने सिट संख्या धेरै कम, एकदमै धेरै कम हुन्छ,’ उनले भने, ‘त्यसपछि नेपाली कांग्रेसको समग्र अस्तित्व नै एकदम डावाँडोल हुन्छ। यो आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो।’
अदालत र निर्वाचन आयोग धाएर पार्टीका समस्या समाधान नहुने भन्दै कोइरालाले राजनीतिक निर्णय राजनीतिज्ञहरूले नै टेबलमा बसेर गर्नुपर्ने बताए।
‘विवाद समाधानको एउटै सूत्र हो, वार्ता। बन्द मनस्थितिमा होइन, खुला मनले आमनेसामने बसेर छलफल गर्नुपर्छ,’ उनले भने, ‘शेरबहादुरजी, गगनजी र सिनियर साथीहरू सबै बसेर संवादको ढोका खोल्नुपर्छ। सम्झौताका लागि दुवै पक्षले स्पेस दिनुपर्छ।’
‘मलाई पदको लोभ छैन, पार्टी जोगिए पुग्छ’
आफूलाई कुनै व्यक्तिगत पद वा प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा नरहेको बताउँदै कोइरालाले आफ्नो सम्पूर्ण ध्यान ऐतिहासिक पार्टीको रक्षामा केन्द्रित रहेको उल्लेख गरे।
‘बिनास्वार्थको राजनीति हुँदैन, तर मेरो व्यक्तिगत स्वार्थ होइन, पार्टीको स्वार्थ हो,’ उनले भने, ‘तीन-तीनवटा ऐतिहासिक क्रान्ति गरेको यो पुरानो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुँदैन। जस्तोसुकै कठिन परिस्थिति आए पनि मेरो बटमलाइन पार्टी एकता नै हो।’
प्रकाशित: १४ आश्विन २०८३ १९:३३ बुधबार