राजनीति

राजु पाण्डेको तस्बिर सेयर गर्दै महेशले भने : अरूलाई पीडा दिँदा कठोर, आफू आलोचित हुँदा भावुक

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेप्रति टिप्पणी गरेका छन्।

बस्नेतले अरूलाई पीडा दिँदा कठोर बन्ने तर आफू आलोचित हुँदा भावुक हुने प्रवृति पाण्डेले देखाएको बताए। पाण्डेले आफ्नो आँसु पुछिरहेको तस्बिर सेयर गर्दै महासिचव बस्नेतले भने, 'हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्थे। तर आज आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै भकानिएर आँसु झार्दै भावुकताको नाटक गरिरहेका छन्।'

अरूलाई पीडा दिँदा कठोर, आफू आलोचित हुँदा भावुक हुने, अनि बालेनको आडमा उनको नाम बेच्दै आफूलाई अब्बल शासक ठान्ने यस्तो दोहोरो चरित्र बोकेको क्रूर र दम्भी व्यक्तिबारे जनताले यथार्थ बुझ्न आवश्यक रहेको उनको भनाइ छ। साथै, सजाय दिनुपर्ने ठाउँमा पुरस्कार दिएर जिताएका यस्ता नक्कली पात्रहरूको गोहीका आँसु समाजले बेलैमा नबुझे, भोलि अझ धेरै दुःख भोग्नुपर्ने अवस्था आउन सक्ने बस्नेतले बताए।

अब जनताले व्यक्तिको अभिनय, भावुकता र नाटक होइन, उसको काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने र शासनको असली परीक्षा आँसु बगाउने क्षमताले नभइ जनताको आँसु पुछ्ने क्षमताले हुने उनले उल्लेख गरे।

'अब जनताले व्यक्तिको अभिनय, भावुकता र नाटक होइन, उसको काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्छ। आखिर शासनको असली परीक्षा आँसु बगाउने क्षमताले होइन, जनताको आँसु पुछ्ने क्षमताले हुन्छ,' उनले भने।

गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र खटिएका सैनिक अधिकारीबिच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिहरू डोजर लिएर पुगेका थिए।

प्रकाशित: २१ श्रावण २०८३ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App